अंगुरबाट बनेको वाइन त निकै मीठो मानेर इज्जतका साथ पिइन्छ । तर के मान्छेको दिसाबाट बनेको वाइन पिउन सकिएला ? आखिर रक्सी न हो, जे बाट बनोस् अल्कोहल उस्तै त हो भन्नुहोला । तर मानिसको दिसाबाट बनेको भनेपछि त्यसलाई झ्वाट्टै पिइहाल्ने आँट भने जस्तोसुकै जँड्याहाले पनि नगर्ला ।
के मान्छेको दिसाबाट पनि वाइन बन्छ त ? भन्ने प्रश्न स्भाविक रुपमा उठ्छ । हाम्रो देशमा त बनेको छैन तर दक्षिण कोरियामा भने मान्छेको दिसाबाट वाइन तयार गरिएको छ ।
भाइस डट कमका अनुसार दिसाबाट बनेको यो वाइन स्वादमा मात्र होइन स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायी छ ।
टंगसुल नामको उक्त वाइनका विषयमा दक्षिण कोरियाकै धेरै मानिस अनभिज्ञ छन् । साथै योे वाइन बनाउने कलाका विषयमा पनि कमैलाई मात्र थाहा छ ।
यो वाइन भात र बच्चाको दिसालाई फर्मेन्टेसन गरी तयार पारिएको वाइन हो ।
यो वाइन बनाउनका लागि सबैभन्दा पहिले बच्चाको दिसालाई मर्चासँग मिसाएर सड्न दिइन्छ । एक दिनपछि उक्त घोलमा भात मिसाइन्छ र पुनः मर्चा मिसाएर सड्न दिइन्छ ।
३-४ दिनपछि त्यसलाई निकालिन्छ र कपडाले छानिन्छ । त्यसरी छानेर निकालिएको रक्सी नै टंगसुल हो । त्यसमा झण्डै नौ प्रतिशत जति अल्कोहल हुन्छ ।
एक प्रकारले यस्तो रक्सी कोरियाली समाजमा परम्परागत परिकार नै हो । स्थानीय पुस्तकहरुमा समेत विज्ञ र अनुभवीहरुले यो रक्सी स्वास्थ्यका लागि लाभदायी हुने दाबी गरेका छन् । यो वाइनलाई पिएमा सरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने र पेट पनि सफा हुने दाबी मानिसहरुको छ ।